विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सेटिङविना त्रिभुवन विमानस्थलबाट सुन भित्रिन सम्भवै नभएको बताएका छन् ।

शनिबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेले भने, ‘सुन भित्रिने भन्ने कुरा त सेटिङ बेगर, मिलेमतो बेगर त भित्रिने सम्भवै छैन तर कुन लेबलको भन्ने कुरा अनुसन्धानको विषय छ होला । कसको, कुन ढंगको मिलेमतो हो भन्ने कुरा चाहिँ अनुसन्धानले खुल्ला ।’

पार्टीको आन्तरिक कार्यक्रमका लागि विराटनगर आएका लामिछानेले भने, ‘लामो समयदेखि नेपालमा सुन तस्करीको जालो ठूलो छ भनेर समातिएकाहरुले पनि म त सानो माछा हुँ, ठूलो माछा त बाँकी नै छ भन्ने स्टेटमेन्ट हेर्दाखेरि विना सेटिङ त त्यति धेरै सुन भित्रिन सम्भव छैन । आम सर्वसाधारणको त एउटा मोबाइल छिर्दैन, मेटल डिटेक्टर हुन्छ भने मिलेमतो बेगर त सम्भव छैन ।’

सभापति लामिछानेले गृहमन्त्रीको राजीनामा एमालेले मागेको सन्दर्भमा सोधिएको प्रश्नमा राजीनामा माग्नु उचित नभएको बताए । अरुले राजीनामा मागे भन्दैमा राष्ट्रिय स्वतन्त्र पार्टीले नमाग्ने बताउँदै उनले धैर्य गर्ने बताए ।

वास्तविकता थाहा पाएर गलत हो भने मात्रै आवाज उठाउने लामिछानेको भनाइ थियो । यसैगरी उनले ऐन संसोधन विधेयकमा अपराधीहरुलाई चोख्याउने गरी समावेश गरिएको विषयप्रति आपत्ति जनाए ।

सेनाको संख्या घटाउने बिषयसँग जोडेर पनि रास्वपालाई जबरजस्ती रुपमा बिषय बाहिर मोड्न खोजेको लामिछानेले आरोप लगाए । उनले सेनाको संख्याको विषयमा भन्दा पनि पार्टीले आर्मी चिफको बरियतालाई तल ल्याउन खोजिएकोप्रति जोडदार कुरा उठाएको बताए ।

पार्टी भर्खरै स्थापना भएकोले जनतासँग गरेका बाचा पूरा भए भएनन् भनेर अहिले नै मुल्यांकन गर्नु हतारो उनले हुने बताए ।

Globalhuff Media
Join the everyday newsletter

Subscribe to get the latest news content by email.