काठमाडौं । महिला विश्वकप फुटबलमा स्पेन र जापान नकआउट चरण प्रवेश गरेका छन् । अष्ट्रेलिया र न्युजिल्याण्डमा जारी प्रतियोगिताको समूह सीको खेलमा बुधबार जित निकाल्दै दुवै टिम विश्वकपको अन्तिम १६ मा प्रवेश गरेका हुन् ।
प्रि-क्वार्टरफाइनल पुग्ने क्रममा एसियाली देश जापानले कोस्टारिया र स्पेनले जिम्बाबेलाई पराजित गरे ।
स्पेनले खेलको नवौं मिनेटमा टेरेसा अबेलेइराको गोलमा अग्रता बनाएको थियो । जेनिफर हर्मोसोले १३ औं मिनेटमा हेड प्रहारमार्फत स्पेनको अग्रतालाई दोब्बर बनाएकी थिईन् । ६९ औं मिनेटमा अल्बा रेडोन्डाले तेस्रो गोल गरिन् ।
लगत्तै हर्मोसोले व्यक्तिगत दोस्रो गोल गर्दै स्पेनलाई ४-० ले अघि बढाईन् । खेल सकिन ५ मिनेट अघि रेडोन्डाले ब्यक्तिगत दोस्रो गोल गर्दै स्पेनलाई ५-० को शानदार जित दिलाईन् ।
अर्को खेलमा जापानले कोस्टारिकामाथि २-० को जित निकाल्यो । खेलको २५ औं मिनेटमा हिकारु नामोतोको गोलमा जापानले अग्रता बनाएको थियो । अबा फुजिनोले २७ औं मिनेटमा गोल गर्दै जापानलाई २-० को जित दिलाएकी हुन् । दुवै खेलाडीले गोल गर्ने क्रममा तनाकाको पासलाई सदुपयोग गरेका थिए ।
समूह चरणको दोस्रो खेलमा शानदार जित सहित स्पेन र जापानले समान ६ अंक जोडेका छन् । समूह विजेताका लागि दुवै टिमले अन्तिम खेलमा प्रतिस्पर्धा गर्नेछन् । बुधबारको खेलमा पराजित भएका कोस्टारिका र जाम्बिया प्रतियोगिताबाट बाहिरिएका छन् ।