काठमाडौं । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को सिमाना हुँदै बग्ने नारायणी नदीले सतर्कता विन्दु पार गरेको छ । जल मापन केन्द्र देवघाटले जनाएअनुसार नदीले आज साँझ ७ बजे सतर्कता विन्दु पार गरेको हो ।

देवघाटको जलमापन केन्द्रका अनुसार अहिले नारायणी नदीमा सात दशमलव ३४ मिटर पानीको सतह रहेको छ । देवघाटमा सात दशमलव तीन मिटर पानीको सतह पुग्दा सतर्कता तह मानिन्छ । नदीमा यस वर्षकै उच्च पानीको सतह पुगेको मापन केन्द्रले जनाएको छ ।

नारायणी नदीको जल मापन केन्द्रमा पानीको सतह नौ मिटर पुगेपछि खतराको तह मानिन्छ । नदीमा पानीको सतह निरन्तर बढ्दै गएपछि जिल्लाको नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको नवलपुरका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताए । नारायणी नदीको बाढीबाट जिल्लाको गैँडाकोट, मध्यविन्दु, कावासोती र देवचुली नगरपालिकाका नदी तटीय वडा डुबान तथा कटानको जोखिममा रहेका श्रेष्ठको भनाइ छ ।

स्थानीय प्रशासनले विपद्जन्य जोखिम न्यूनीकरण तथा राहत र उद्धारका लागि पूर्वतयारीका सबै काम गरेको श्रेष्ठको भनाइ छ । पहिरो, बाढी, डुबान तथा कटानमा परेका नागरिकको उद्धार र राहतको लागि पूर्वतयारीका काम गरेको घिमिरेको श्रेष्ठले बताइन् । बाढी पहिरो प्रभावित घरपरिवारको विवरण सङ्कलन गर्ने तथा उनीहरुको व्यवस्थापनमा के कस्ता काम गर्नुपर्छ भन्ने बारेमा पूर्वतयारीका सबै काम गरिएको प्रजिअ श्रेष्ठले बताइन् ।

जिल्लाको विपद् व्यवस्थापनका लागि तीन वटै सुरक्षा निकाय, रेडक्रस तथा विषयगत सङ्घसंस्थालाई तालिमसहित तयारी अवस्थामा राखिएको उनले बताइन् । ‘सकेसम्म विपद् हुनै नदिने र भइहालेको अवस्थामा विपद् व्यवस्थापनसम्बन्धी तालिम लिएका सुरक्षाकर्मी र अन्य सङ्घसंस्थाका प्रतिनिधिलाई परिचालन गर्नेगरी तयारी थालिएको छ,’ श्रेष्ठले भनिन्, ‘जिल्लामा इमिडियट रेस्पोन्स टिम निर्माण गरेर विपद् व्यवस्थापनका लागि पूर्वयोजना तर्जुमालगायतका काम गरेका छौँ ।’