काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गरेका छन् ।
आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा राखिएका जिज्ञासाको जवाफ दिने क्रममा उनले प्रधानमन्त्री दाहाल आफैंले पदबाट राजीनामा दिनुपर्ने बताएका हुन् ।
सरकार अयोग्य र भ्रष्टाचारको चाङमा उभिएको भन्दै अध्यक्ष ओलीले प्रधानमन्त्री दाहाललाई पदबाट राजीनामा दिन सुझाव दिएका थिए । यस्तै गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतले राजीनामा नगरेर पदमा बसिरहेको देख्दा आफू आश्चर्यमा परेको भन्दै उनले कटाक्ष गरेका थिए ।
‘जिम्मेवार भएर पनि गृहमन्त्री श्रेष्ठले राजीनामा नदिएर हिँड्न अफ्ठ्यारो लाग्नुपर्ने होइन ?,’ ओलीले भनेका थिए, ‘प्रधानमन्त्री पनि यति अयोग्य, यति नालायक, यति भ्रष्ट सरकारको, यस्तो भ्रष्टताको चाङमाथि उभिएर म नेतृत्व गर्छु भन्न अफ्ठ्यारो हुनुपर्ने हो । उहाँले आफैँ राजीनामा गर्नुपर्ने हो । गृहमन्त्री र अर्थमन्त्रीले त राजीनामा नगरेर कसरी बस्न सकेको ? आठौं र नवौं आश्चर्य भन्नुपर्छ यसलाई । यो ठूलो आश्चर्यको विषय हो ।’
यस्तै उनले सुन तस्करी प्रकरणको छानबिनलाई लक्षित गर्दै गृहमन्त्री श्रेष्ठ पदमा बसिरहनु उचित नहुने आशय व्यक्त गरेका थिए । साथै देश अहिले डरलाग्दो अवस्थामा पुगेको भन्दै उनले सबै गम्भीर भएर अघि बढ्नुपर्ने समेत बताएका थिए ।