मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को शिख्रौलीबाट नारायणीमा पर्यटकका लागि डुंगा सफारी सञ्चालन गरिने भएको छ ।
गैँडाकोट नगरपालिका-११ मा रहेको बगैँचा एडभेन्चर रिसोर्टले नारायणीको शिख्रौली घाटदेखि उत्तरी भङ्गालो हुँदै दिव्यपुरीसम्म करिब ११ किलोमिटरमा डुंगा सञ्चालनको अनुमति पाएसँगै यहाँ आउने पर्यटकले नारायणी नदीमा डुंगा सफारीको आनन्द लिन पाउने भएका हुन् ।
चितवन राष्ट्रिय निकुञ्जले बगैँचा एडभेन्चर रिसोर्टलाई यही भदौ १ गतेदेखि एक वर्षका लागि डुंगा सफारीको अनुमति दिएको रिसोर्टका सञ्चालक सन्तोष धितालले बताए । ‘रिसोर्टमा आउने पर्यटकलाई काठे गोरु गाडामा नारायणी नदीको शिख्रौली घाटसम्म र त्यहाँबाट करिब ११ किलोमिटर डुंगामा सफारी गराएर दिव्यपुरीसम्म पुर्याइनेछ”, उनले भने, ‘डुंगा सफारीपछि पर्यटकलाई दिव्य सामुदायिक वनमा जङ्गल सफारीसमेत गराउने गरेर प्याकेज तयार पारिएको छ ।’
होटेल, घरबास तथा पर्यटन व्यवसायी समितिको साँझा पहलमा यस क्षेत्रमा डुंगा सफारी सञ्चालन गर्न लागिएको हो । यसअघि होटेल, घरबास तथा पर्यटन व्यवसायी समितिको पहलमा देवचुलीको पिप्रहरबाट निकुञ्जको भित्रि क्षेत्रमा करिब ५५ किलोमिटर लामो जङ्गल सफारी सुरु गरिएको छ ।
वैदेशिक रोजगारीबाट फर्किएका व्यवसायी सन्तोष धितालले गैँडाकोटको हर्कपुरमा करिब रु ८० करोडको लगानिमा बगैँचा एडभेन्चर रिसोर्ट सञ्चालन गरेका हुन् । ‘निर्माणाधीन रिसोर्टलाई कार्ट हाउस (गाडा घर) भनेर चिनाउन खोजिएको छ,’ सञ्चालक धितालले भने, ‘वातानुकूलित यो होटलमा बाहिर र कोठाभित्रको तापक्रममा १२ डिग्री फरक हुने छ ।’
यस्तो फरक शैलीको रिसोर्ट यो नै नेपालको पहिलो रहेको उनले दाबी गरे । ‘होटेलका सबै कोठाको माथिल्लो भागमा परम्परागत थारु समुदायले बनाउँदै आएको खपडाको छानो राखिएको छ,’ उनले भने । होटेलमा बाँसको ढुङ्ग्रामा खाना पकाउने प्रविधि राखिएको छ । होटेलका पाहुनाले खाना खाने थाल, प्लेट, गिलाससमेत काठबाट नै तयार गरिएको उनले बताए । ‘होटेल पूर्णरुपमा सञ्चालनमा आउँदा ६० जनाले रोजगारी पाउने छन्,’ उनले भने, ‘यहाँ थारु र मगर समुदायको सांस्कृतिक कार्यक्रमसमेत प्रदर्शन गरिनेछ ।’