काठमाडौं । चलचित्र ‘एक भगवत् गीता’ लाई लिएर भइरहेको विवाद टुंगिएको छ । चलचित्र विकास बोर्डको मध्यस्थतामा निर्माण टिम र विभिन्न धार्मिक संघ-संगठनबीच चलचित्रको शीर्षक परिवर्तन गर्ने सहमति जुटेसँगै विवाद किनारा लागेको हो ।
चलचित्रको नामलाई लिएर विभिन्न धार्मिक संघ-संगठनले आपत्ति जनाउँदै बोर्डमा उजुरी दिएका थिए । बोर्डसहितको त्रिपक्षीय छलफलमा चलचित्रको शीर्षक परिवर्तन गर्ने सहमति जुटेसँगै चलचित्र प्रदर्शनको बाटो पनि खुलेको छ ।
सहमतिअनुसार अब फिल्मको नाम ‘एक भागवत् र एक गीता (सामाजिक कथा) तय भएको छ । विवाद टुंगिएसँगै यो फिल्म अब सेन्सरको प्रक्रियामा अघि बढ्ने निर्माता निर्माता सुनिलकुमार थापाले जानकारी दिए ।
यो सहमतिले सांस्कृतिक र सामाजिक सद्भाव कायम राख्ने विश्वास आफूहरुले लिएको चलचित्र विकास बोर्डका प्रवक्ता केएल बुढाथोकीले बताए ।
भदौ २९ गते प्रदर्शन तयारीमा रहेको यो फिल्मको शीर्षक र चरित्र चित्रणलाई लिएर केही धार्मिक संस्थाले आपत्ति जनाएका थिए ।