काठमाडौं । गृह मन्त्रालयले १० जना सहसचिवको सरुवा गरेको छ । सोमबार गृह मन्त्रालयले अध्यागमन विभागको महानिर्देशक र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुखसहित १० सहसचिवको सरुवा गरेको हो ।
विभागको महानिर्देशकमा गृह मन्त्रालयका रुद्रसिंह तामाङलाई पठाएको छ । विभागमा यसअघि महानिर्देशक रहेका झलकराम अधिकारी सुन प्रकरणमा मुछिएपछि त्यहाँबाट उनलाई हटाइएको थियो ।
विभागमा लगिएका तामाङ राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत थिए । उनको ठाउँमा गृह मन्त्रालयमा कार्यरत सहसचिव जयनारायण आचार्यलाई लगिएको छ ।
त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत सहसचिव रामबन्धु सुवेदीको पनि सरुवा भएको छ । सुवेदीलाई दाङको प्रमुख जिल्ला अधिकारी बनाइएको छ ।
दैलेखका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाललाई पनि सरुवा गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको प्रमुख अध्यागमन अधिकृतमा सरुवा गरिएको छ ।
यस्तै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई गृहले मन्त्रालय वा अन्तर्गत ल्याएको छ भने गृह मन्त्रालयका सहसचिव गणेश अर्याललाई रुपन्देहीको प्रजिअमा सरुवा गरिएको छ । त्यसैगरी मन्त्रालयका सहसचिव शिवराम गेलाललाई महोत्तरीको प्रजिअमा सरुवा गरिएको छ । महोत्तरीका प्रजिअ दीपक कुमार पहाडीलाई भने गृह मन्त्रालयमा ल्याइएको छ ।
त्यस्तै भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाललाई गृह मन्त्रालयमा सरुवा गरी बागलुङकी प्रजिअ रोशनी कुमारी श्रेष्ठलाई भक्तपुरको प्रजिअ बनाइएको छ ।