काठमाडौं । अभिनेता अनमोल केसी आज हिरासतमुक्त हुने भएका छन् । प्रहरीले उनलाई हाजिरी जमानीमा छोड्न लागेको हो ।

जिल्ला अदालत काठमाडौंले केसीको तीन दिन म्याद थपेको थियो । उनी पक्राउ परेको दिन शुक्रबारदेखि नै गणना भएकाले आजै म्याद गुज्रिएकाले प्रहरीले छोड्न लागेको हो ।

आरोपीले प्रमाण नष्ट गर्ने सम्भावना नदेखिएको अवस्थामा प्रहरी अधिकारीले हाजिरी जमानीमा छाड्न सक्ने प्रावधान छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश कृष्णप्रसाद सुवेदीको इजलासले आज उनलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

फिल्म ‘रावायण’को आर्थिक लेनदेन विवादमा निर्मात्री सुप्रिया कटुवालले अनमोलविरुद्ध उजुरी दिएकी थिइन् । प्रहरीले उनलाई शुक्रबार बेलुका साँगाबाट पक्राउ गरेको थियो ।

प्रहरीले गरेको सोधपुछमा अनमोलले आफूले १० लाख फिर्ता गर्न खोज्दा पनि ‘रावायण’ फिल्मका निर्माताले लिन अस्वीकार गरेको बताएका थिए । साथै, स्क्रिप्ट चित्त नबुझेर प्रोजेक्ट अस्वीकार गरेको बयान दिएका थिए ।