काठमाडौं । विद्युतीय चुरोट (भेप) मा भएको ९ किलो सुन तस्करी प्रकरणमा प्रहरीले पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासँग सोधपुछ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले सोमबार महरालाई बोलाएर सोधपुछ गरेको हो । विद्युतीय चुरोटमा सुन ल्याउने चिनियाँ नागरिक लीसँग महराको निरन्तर फोन सम्पर्क देखिएको थियो । सुन तस्करीमा संलग्न चिनियाँसँग सम्बन्ध देखिएका महराकै छोरा राहुललाई सीआईबीले पक्राउ गरिसकेको छ ।

राहुलविरुद्ध मुद्दा दायर गर्नुअघि महराको सम्बन्धबारे सीआईबीले सोधपुछका लागि बोलाएको जनाएको छ । महराले भने दुवैबाट आएको विद्युतीय चुरोट विमानस्थलमा बरामद भएको र त्यसको लिलामी प्रक्रियाबारे जानकारी मात्रै लिएको जनाएका छन् ।

गत पुसमा विद्युतीय चुरोटमा आएको ९ किलो सुन विमानस्थलबाट चोरिएको थियो । जसमा चिनियाँ नागरिक जोडिएका थिए । सीआईबीले गरेको अनुसन्धानमा ब्रेक सुमा ६० किलो र विद्युतीय चुरोटमा ९ किलो सुन तस्करी गर्ने एउटै चिनियाँ समूह भएको निष्कर्षसहित मुद्दा दायर गरिसकेको छ ।