काठमाडौं । कानून, न्याय तथा मानव अधिकार समितिले सम्पती शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यवसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित गरेको छ ।
उपसिमितिले मंगलबार बुझाएको प्रतिवेदन समितिले संशोधनसहित पास गरेको हो । समिति सभापति विमला सुवेदीका अनुसार सहकारी ऐन, २०७४ को दफा ५२ (दफा १८ को उपदफा २ झिक्ने) मा व्यक्तिगत वचतको अधिकतम सीमा २५ लाख हुने प्रस्ताव हटाइएको छ । साथै क्यासिनो सञ्चालनको सम्बन्धमा विदेशी सीमाबाट ५ किलोमिटर बाहिर हुनुपर्ने व्यवस्था गरिएको छ ।
उनका अनुसार प्रचलित कानूनअनुसार ३ किलोमिटरको सीमा बाहिर सञ्चालन गर्ने गरिएका क्यासिनोहरु कायम राखिने छ ।
३ किलोमिटरको सीमाको नियमअनुसार सञ्चालन नभएकाहरुको हकमा आगामी तीन वर्ष भित्रमा ५ किलोमिटरको सीमा बाहिर आएर सञ्चालन गर्नुपर्ने प्रावधान राखिएको हो । उनले भनिन्, ‘अब बन्ने नयाँ क्यासिनोहरुको हकमा ५ किलोमिटरको सीमा कायम गर्ने ।’