काठमाडौं । घरेलु मैदानमा हुने टी-२० विश्वकप क्वालिफायरका लागि नेपाली टोली घोषणा गरिएको छ ।
रोहित पौडेलको कप्तानीमा घोषित १५ सदस्यीय टोलीमा स्पिनर सन्दीप लामिछानेले कमब्याक गरेका छन् । यसअघि त्रिकोणात्मक टी-२० सिरिजमा लामिछानेले खेलेका थिएनन् ।
उनले परिवारलाई समय दिने भन्दै त्रिकोणात्मक टी-२० सिरिजबाट आफ्नो नाम हटाउन लगाएका थिए ।
आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोट कार्तिक १३ गतेदेखि २० गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुँदैछ । १५ सदस्यीय टोलीमा अन्य खेलाडी परिवर्तन गरेको छैन ।
टोलीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, प्रतिश जि.सी, विवेक यादव, सन्दीप लामिछाने, ललित राजवंशी र विनोद भण्डारी समावेश छन् ।
समूह ‘ए’ मा नेपाल, सिंगापुर, ओमान र मलेसिया छन् भने समूह ‘बी’ मा यूएई, बहराइन, हङकङ र कुवेत छन् । फाइनलमा पुग्ने दुई टोलीले आगामी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टी-२० विश्वकप खेल्न पाउनेछन् ।