काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले गणतन्त्र उल्टाउने एजेन्डासहित आन्दोलनको घोषणा गरेका छन् । मंसिर ७ बाट सुरु गर्ने ‘नागरिक मुक्ति आन्दोलन’ ले वार कि पार गर्ने उनको दाबी छ ।

आज भक्तपुरस्थित आफ्नै निवासमा युट्युबरहरु भेला गरेर उनले आन्दोलनको घोषणा गरेका हुन् । आफ्नो आन्दोलनलाई प्रधानमन्त्री र सबै दलका नेताहरुले आर्थिक सहयोग गर्नुपर्ने उनको माग छ ।

प्रसाईंले भने, ‘मैले प्रधानमन्त्रीलाई क्यूआर कोड पठाएको छु । गणतन्त्र फ्याक्न मन्त्रिपरिषद्बाट निर्णय गराएर ५० लाख उपलब्ध गराउन भनेको छु । उहाँ मनको कमजोर हुनुहुन्छ । पक्कै दिनुहुन्छ ।’

एमाले अध्यक्ष केपी शर्मा ओली र अन्य दलका नेताहरुसँग पनि पैसा माग्ने उनले बताए ।

‘ओली हजुरबासँग पनि ५० लाख रुपैयाँ माग्छु । शेरबहादुरसँग् पनि माग्छु । रवि लामिछानेले ५ लाखमात्रै दिँदा हुन्छ, उहाँले धेरै कमाउन भ्याउनुभएको छैन । मेरो नेतृत्वमा गणतन्त्र उल्टिन्छ’, प्रसाईंले भने ।

उनले २० लाखभन्दा मुनिको ऋण मिनाहा गर्नुपर्ने माग राखेका छन् । यस्तै राइट टु रिजेक्ट र नो भोटको व्यवस्था लागू गर्नुपर्ने, उच्चपदस्थ सबैको सम्पत्ति छानबिन गर्नुपर्ने, प्रदेश संरचना खारेज गर्नुपर्ने माग पनि उनको अभियानले अघि सारेको छ ।

व्यवस्था परिवर्तन नभएसम्म लघुवित्त र सहकारीको पैसा अहिले नतिर्न उनले उर्दी जारी गरेका थिए ।

प्रसाईं सरकार र राजनीतिक दलहरुमाथि खनिएका थिए । खासगरी एमाले र यसका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध उनी बढी केन्द्रित भए । देशका समस्याहरु बिर्सेर ओली मोबाइलमा पब्जी खेलेर बस्ने गरेको उनको आरोप थियो ।

हिजो साइबर ब्युरोले बोलाएको प्रसंगमा उनले प्रहरी पनि कांग्रेस-एमाले बनेको टिप्पणी गरे ।

सबैलाई गाली गरेका उनले युट्युबरहरुको भने उच्च प्रशंसा गरे । आफ्नो आन्दोलनलाई युट्युबरहरुले पनि १०० रुपैयाँ दिन उनले आग्रह गरे ।