काठमाडौं । श्रीलंकालाई ५ विकेटले हराउँदै न्यूजिल्याण्ड विश्वकप क्रिकेटको सेमिफाइनल नजिक पुगेको छ । भारत, दक्षिण अफ्रिका र अष्ट्रलिया यसअघि नै सेमिफाइनलमा पुगेका थिए ।

श्रीलंकामाथिको जितले न्यूजिल्याण्डको १० अंक भएको छ र उ सेमिफाइनल होडमा रहेका पाकिस्तान र अफगानिस्तान भन्दा रनरेटमा अघि छ । ८ अंक रहेको पाकिस्तानले इंग्ल्याण्डसँग र ८ अंक नै रहेको अफगानिस्तानले दक्षिण अफ्रिकासँग खेल्न बाँकी छ ।

श्रीलंकालाई हराउने क्रममा न्यूजिल्याण्डले १७२ रनको लक्ष्य खेल सकिन २६.४ ओभर बाँकी छँदा ५ विकेट गुमाएर भेट्टायो ।

न्यूजिल्याण्डलाई जिताउन डेभोन कनवेले ४५, ड्यारेल मिचेलले ४३ र रचिन रविन्द्रले ४२ रन बनाए । श्रीलंकाका एञ्जेलो म्याथ्युजले २ तथा दुशमान्था चमिरा र महेश थिकसेनाले समान १ विकेट लिए ।

पहिला ब्याटिङ गरेको श्रीलंकाले ४६.४ ओभरमा १७१ रनमा अल आउट भएको थियो । उसका लागि कुशल परेराले ५१ रन बनाएका थिए ।

यो हारसँगै श्रीलंका शीर्ष ८ मा रहने संभावन निक्कै कमजोर बनेको छ । विश्वकपको शीर्ष ८ मा रहने टोलीले मात्रै सन् २०२५ मा हुने आईसीसी च्याम्पियन्स ट्रफी खेल्न पाउने छन् ।