काठमाडौं, ९ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा अबको सिर्जना र अनुसन्धान केवल परम्परा धान्नेमा मात्र सीमित हुन नहुने बताएका छन् । नेपाल प्रज्ञा-प्रतिष्ठानको ६६औँ वार्षिकोत्सवका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले यथास्थितिका सौन्दर्य चेतनाले मात्रै अब नपुग्ने उल्लेख गरे ।
प्रधानमन्त्री दाहालले नेपाली समाजको सामाजिक संरचना र राजनीतिक व्यवस्थामा भएको परिवर्तनलाई संस्थागत गर्न सोहीअनुसारको सांस्कृतिक रूपान्तरण जरुरी रहेको स्पष्ट पारे । नेपाली समाजका सूक्ष्म तहमा जरा गाडेर बसेको सामन्तवादी संस्कृति र सुनामीजस्तै बनेर आइरहेको भूमण्डलीकृत उत्तरआधुनिक संस्कृतिको प्रतिरोध गर्न आह्वान गर्दै उनले सङ्घीय, समानुपातिक, गणतान्त्रिक युग अनुकूलको संस्कृतिको निर्माण आजको मुख्य दायित्व भएको प्रष्ट्याए।
प्रधानमन्त्री दाहालले नेपालको संविधान, २०७२ को मर्म र भावनाअनुरूप नेपालमा बोलिने सबै भाषा र तिनका साहित्य, संस्कृति अनि ज्ञानका विभिन्न शाखालाई प्रवर्द्धन र विकास गर्दै अघि बढ्नु प्रज्ञा-प्रतिष्ठानको दायित्व र कर्तव्य रहेको औँल्याए । उनले नेपालका कतिपय उन्नत सांस्कृतिक परम्परा, यहाँको माटोमा सिर्जित र विकसित ज्ञान तथा साहित्य–चिन्तनलाई पछिल्लो समयमा विकास भएका आधुनिक ज्ञान र चिन्तनका सापेक्षतामा विकास गर्दै अघि बढ्नसकेमा मात्र सफल हुने बताए ।
विसं २०६२/६३ को जनआन्दोलनपश्चात् साविकको नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानबाट ललितकला र सङ्गीत नाट्य विधालाई छुट्टै प्रतिष्ठानका रूपमा गठन गरिएकोले नेपाल प्रज्ञा–प्रतिष्ठानले भाषा, साहित्य, संस्कृति, दर्शन र सामाजिकशास्त्रका क्षेत्रमा अध्यययन–अनुसन्धान र प्रकाशनका काम गर्दै आइरहेको छ ।
प्रधानमन्त्री दाहालले जनयुद्धको जगमा भएको २०६२/६३ सालको जनआन्दोलन र त्यसबाट निर्मित नेपालको संविधान २०७२ को मर्म र भावनाअनुरूप नेपालमा बोलिने सबै भाषा र तिनका साहित्य, संस्कृति अनि ज्ञानका विभिन्न शाखालाई प्रवद्र्धन र विकास गर्दै अघि बढ्नु वर्तमान प्रज्ञा–प्रतिष्ठानको दायित्व र कर्तव्य भएको बताए ।
नेपालका कतिपय उन्नत सांस्कृतिक परम्परा, यहाँको माटोमा सिर्जित र विकसित ज्ञान तथा साहित्य–चिन्तनलाई पछिल्लो समयमा विकास भएका आधुनिक ज्ञान र चिन्तनका सापेक्षतामा विकास गर्दै अघि बढ्न सकेमा मात्र सफल हुने प्रधानमन्त्री दाहालको भनाइ छ ।
विसं २०२२ देखि सुरु भएको कविता महोत्सवमा यस पटकदेखि बहुभाषी कविता समावेश गरिएको थाहा पाउँदा खुसी लागेको प्रधानमन्त्री दाहालले उल्लेख गरे । आगामी वर्षदेखि नेपालका सबै भाषाका कविता राष्ट्रिय कविता महोत्सवमा सहभागी हुने र राष्ट्रिय कविता महोत्सव आफ्नो नामअनुसार साँच्चिकै राष्ट्रिय कविता महोत्सवका रूपमा अरु स्थापित हुने प्रधानमन्त्री दाहालको भनाइ छ ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले कविता महत्सोवको महत्व र यसको सांस्कृतिक पक्षका बारेमा चर्चा गर्दै मन्त्रालयले त्यकास लागि आवश्यक सहजीकरण गरिरहेको बताए । सो अवसरमा प्रज्ञा-प्रतिष्ठानका कुलपति भुपाल राईले राष्ट्रिय कविता महोत्सवका बारेमा जानकारी गराए ।