काठमाडौं । अभिनेत्री दिया पुनले सफलतापूर्वक अफ्रिकाको सबैभन्दा अग्लो हिमाल किलिमन्जारोको आरोहण गरेकी छन् । आइतबार बिहान साढे ७ बजे उनी हिमालको चुचुरोमा पुगेकी हुन् ।
५ हजार ८ सय ९५ मिटर (१९ हजार ३४१ फिट) अग्लो उक्त हिमालको चुचुरोमा पुगेपछि उनले नेपालको झण्डा फहराएकी थिइन् । उनले आफ्नो अर्को सपना पूरा भएको भन्दै खुसी व्यक्त गरेकी छन् ।
दियाले पहिलो पटक हिमाल चढेकी भने होइनन् । गत वर्षको जेठमा संसारकै सबैभन्दा अग्लो हिमाल सगरमाथाको सफलतापूर्वक आरोहण गरेकी उनले त्यसअघि विश्वकै आठौँ अग्लो मनास्लु हिमाल (८ हजार १ सय ६३ मिटर) चढेकी थिइन् । अर्जेन्टिनास्थित ६ हजार ९ सय ६१ मिटर अग्लो हिमाल अकोनकागुवाकोसमेत उनले आरोहण गरिसकेकी छन् । हिमाल आरोहण उनको रुचि हो ।
फिल्म ‘वीर विक्रम’ बाट अभिनेत्रीको रुपमा सुखद डेब्यू गरेकी दियाको यस वर्षको असार ८ गते फिल्म ‘अन्तिम संस्कार’ प्रदर्शनमा आएको थियो । उनले कोरोना महामारीभन्दा अगाडि काम गरेको फिल्म ‘दयारानी’ भने प्रदर्शनको पर्खाइमा छ । उनले नयाँ फिल्म सम्झौता गरेकी छैनन् । यूकेमा हुर्के-बढेकी उनी पेशाले नर्स हुन् । दियाको लक्ष्य सातै महादेशका अग्ला हिमाल आरोहण गर्नु छ ।