काठमाडौं । सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले सडक संघर्षमा उत्रने घोषणा गरेको छ । गणतन्त्रका उपलब्धिहरु उल्टाउने गरी राजावादी खेमाबाट भइरहेका प्रतिगामी षडयन्त्रहरुको भण्डाफोर गर्ने भन्दै माओवादी केन्द्रले सडक संघर्ष गर्न लागेको हो ।
मंगलबार बिहान जारी सर्कुलर अनुसार माओवादी केन्द्रले मंसिर २२ गते काठमाडौंमा सडक संघर्ष गर्नेछ । सरकारमा बसेर राज्यका नीतिहरु कार्यान्वयन गर्नुपर्नेमा माओवादी केन्द्रले प्रतिपक्षी दलको व्यवहार देखाउन लागेको हो ।
दुई दिनअघि बसेको पार्टीको पदाधिकारी बैठकका निर्णयबारे सर्कुलर पठाउँदै माओवादीले मातहत कमिटी र भ्रातृसंगठनहरुलाई मंसिर २२ को तयारीमा उत्रन निर्देशन दिएको छ ।
माओवादी उपाध्यक्ष अग्निप्रसाद सापकोटाका अनुसार पहिलो चरणमा काठमाडौंमा संघर्षको कार्यक्रम घोषणा गरिएको हो । त्यसपछि प्रदेश र पालिका तहसम्म पुग्ने उनले जानकारी दिए ।
माओवादीले विदेशी शक्तिसमेत परिवर्तन उल्ट्याउन सक्रिय भएको विश्लेषण गरेको छ । तर ती शक्ति को हुन् भन्नेबारे सर्कुलरमा प्रष्ट गरिएको छैन ।