मोरङ । प्रदेश प्रमुख पर्शुराम खापुङले सात दिनभित्र सरकार गठनका लागि शनिबार आहृवान गरेका छन् । संविधानको धारा १६८ को (५) अनुसारको सरकार गठनका लागि प्रदेश प्रमुख खापुङले आहृवान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्र श्रेष्ठले विज्ञप्तिमार्फत जनाएका छन् ।
संविधानको धारा १६८ को उपधारा (५) बमोजिम कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गरी सरकार गठन गर्नका लागि कोशी प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई असोज २६ गते साँझ ५ बजेभित्र आफ्नो दाबी पेस गर्न प्रदेश प्रमुख खापुङले आहृवान गरेको विज्ञप्तिमा उल्लेख छ ।
सर्वोच्च अदालतको परमादेशले संविधानको धारा १६८ को उपधारा (३) अनुसार मुख्यमन्त्री नियुक्त भएका एमाले नेता हिक्मतकुमार कार्कीले शनिबार पदबाट राजीनामा दिएपछि कोशीमा नयाँ सरकार गठन हुन लागेको हो ।