तुलसीपुर । सल्यानमा गुडिरहेको यात्रुबहाक बसमा करेन्ट लाग्दा तीन जनाको मृत्यु भएको छ । सडकमा गुडिरहेको अवस्थमा लत्रिएको विद्युतको तारले बसलाई छुँदा करेन्ट प्रवाह उक्त दुर्घटना भएको हो ।

तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नवराज केसीका अनुसार रोल्पाको गङ्गादेव गाउँपालिका-४ निवासी ७० वर्षका बालाराम डाँगी र उनका छोरा ४५ वर्षीय टोपलाल डाँगीको बसको सिटमै मृत्यु भएको थियो । सख्त घाइते गाडी धनी सल्यान छत्रेश्वरी गाउँपालिका-६ राणागाउँ निवासी अञ्दाजी ३७ वर्षीय महेन्द्र ओलीको राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

दाङबाट रोल्पा जाँदै गरेको रा १ ख ८३४ नं को बसमा आज बिहान १० : १५ बजेतिर कपुरकोट गाउँपालिका–३ चोरखोलामा पुग्दा लत्रेको तारबाट करेन्ट प्रवाह भएको थियो । सडकमा लत्रिएको ११ हजार भोल्टेजको विद्युतको तारले गाडीको पछाडीको भागमा छुँदा करेन्ट लागेको प्रहरीले बताएको छ । उक्त बसमा २७ यात्रु सवार थिए ।