काठमाडौं, ९ असार । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिलेको सत्तारुढ गठबन्धनले चित्त बुझ्नेगरी काम नगरे गठबन्धन फेरिने दाबी गरेका छन् ।

काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा उनले गठबन्धन ठिक ढंगले चलेन र चित्त बुझेन भने गठबन्धन फेर्ने कुरा नौलो नभएको धारणा राखे । नेपाली कांग्रेसले सरकार छोड्नुपर्छ कि भन्ने डरले चुनावअघि नै गठबन्धन गर्नु गलत भएको उनको भनाइ छ ।

सरकार छोड्नपरे पनि नडराईकन एक्लाएक्लै चुनाव लड्न कांग्रेसले सक्नुपर्ने भन्दै महामन्त्री थापाले गठबन्धन फेरिनु र नयाँ सरकार बन्नु कुनै नौलो कुरा नभएको जिकिर गरे ।

‘चुनावपछाडि सरकार बन्ने, बदल्ने सामान्य कुरा हो । हामी अहिले एक गठबन्धनमा छौं, गठबन्धन ठिक ढंगले गएन, चित्त बुझेन भने गठबन्धन बदलिन्छ । नयाँ सरकार बन्छ, कुनै अनौठो कुरा भएन । बन्छ, भत्किन्छ भइराख्छ,’ उनले भने, ‘तर चुनावअघि हामी सरकार छोड्नुपर्छ भनेर चुनावमा लागेको एउटा व्यक्ति ज्यान गुमाउन तयार छ तर सरकार गुमाउन तयार भएनौँ ।’

उनले समाजवादी मोर्चामा अझै नेकपा एमाले पनि थपिएर कम्युनिस्टहरु एकै ठाउँमा भए पनि कांग्रेसलाई फरक नपर्ने जनाए । ‘के हुन्थ्यो कम्युनिस्ट पार्टी मिलेर ? १० वर्ष सरकार चल्थ्यो, चलोस्, समाजवादीमा एमाले पनि थपियोस्, चलोस्, एक्लै लड्छ कांग्रेस, नजिते चकटीमा बस्छ, के बिग्रिन्छ,’ उनले भने, ‘अब नेपाली कांग्रेसले छलफल गर्ने बेला आएको छ ।’

उनले संसद्‌मा समानुपातिक निर्वाचन प्रणाली नराख्न आग्रह पनि गरे । ‘अब यो समानुपातिक निर्वाचन प्रणाली कम्तीमा लोअर हाउसमा नराखौं । महिला, दलित, मधेसी कसरी जाने भन्न सकिन्छ, महिलाका लागि निर्वाचन क्षेत्र तोकौं,’ उनले भने, ‘समाजका समस्याको चिन्तनका केन्द्रमा नेपाली कांग्रेसलाई ल्याउनुपर्छ । कांग्रेसले आकर्षण गरोस् ।’