काठमाडौं, ५ असार । विशेष अदालतले आज आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मासहित कर फर्छ्योट आयोगका पदाधिकारीलाई नौ वर्ष कैद सजाय हुने फैसला गरेको छ ।
विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरु यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले कर फर्छ्योट आयोगका अध्यक्ष लुम्बध्वज महतलाई नौ वर्ष एक महिना, सदस्य उमेश ढकाल र सदस्य सचिव आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक शर्मालाई नौ वर्ष कैद सजाय हुने फैसला गरेको विशेष अदालतका प्रवक्ता तथा उपरजिस्ट्रार दीपेन्द्रनाथ योगीले जानकारी दिए ।
उहाँका अनुसार कैद सजाय हुने फैसला भएका तीनै जनालाई जनही रु दुई अर्ब पाँच करोड २३ लाख ४८ हजार नौ सय ४९ बिगो र जनही रु चार अर्ब १० करोड ४६ लाख ९७ हजार आठ सय ९८ जरिवाना तोकिएको छ । यसअघिको सुनुवाइमा उनीहरुलाई दोषी ठहर गरिएकोमा आज सजाय तोकिएको प्रवक्ता तथा उपरजिस्ट्रार योगीले बताए ।