जनकपकुरधाम । जनकपुर-जयनगर सञ्चालन हुँदै आएको नेपालको एक मात्र रेल सेवा आजदेखि महोत्तरीको भंगाहासम्म विस्तार भएको छ ।

भंगाहा रेल्वे स्टेशनमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले हरियो झण्डा हल्लाएपछि रेल जयनगरका लागि गुडेको छ ।

जनकपुर-जयनगर ब्रोडगेज रेलको थप १७ किलोमिटर सेवा विस्तार गरिएको हो । यसअघि पहिलो चरणमा जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटरमा रेलसेवा संचालन हुँदै आएको थियो ।

थप १७ किलोमिटर भएपछि अब महोत्तरीको भंगाहादेखि जनकपुर हुँदै जयनगरसम्म ५२ किलोमिटरमा रेल सेवा विस्तार भएको हो ।

रेल हेर्न भंगाहामा स्थानीय बासिन्दाको घुँइचो लागेको थियो ।

भारत सरकारको आर्थिक सहयोगमा निर्माण भएको रेलको थप १७ किलोमिटर भागको निर्माण सम्पन्न भएपछि भारतको इरकन कम्पनी लिमिटेडले नेपाल रेल्वे कम्पनीलाई गत जेठ १८ गते हस्तान्तरण गरेको थियो ।

ब्रोडगेज दुईसेट रेल १९ चैत २०७८ देखि कुर्थादेखि जयनगरसम्म सञ्चालनमा आएको थियो ।

सुरुमा दुईपटक मात्र सेवा दिने गरेको रेल गत मंसिरमा विवाहपञ्चमीको बेलादेखि दिनको आउने जाने गरी चारपटक सञ्चालनमा थियो ।

भोलिदेखि भने थप सेवा विस्तार गरी दैनिक दुवै रेल तीनपटक आउने र जाने गरी ६ पटक सेवा दिने नेपाल रेल्वे विभागका महाप्रवन्धक निरञ्जन झाले झाले जानकारी दिए । भंगाहा स्टेशनबाट मात्र दिनको दुईपटक साँझ र बिहान सेवा दिने छ ।