काठमाडौं । तस्करले भित्र्याएको ‘ब्रेक सु’ बाट बरामद सुन उच्च गुणस्तरको रहेको पाइएको छ । ब्रेक सुबाट निकालिएको ६० किलोभन्दा बढी सुन परीक्षण गर्दा उच्च गुणस्तरको रहेको पाइएको हो ।

नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले गुणस्तर परीक्षण गर्दा उक्त सुन ‘९९९’ शुद्ध रहेको पुष्टि भएको छ । सामान्यतया बजारमा २२ क्यारेट र २४ क्यारेट भनेर सुनको गुणस्तर वर्गीकरण गर्ने गरिन्छ । तर, राष्ट्र बैंकले नम्बरका आधारमा सुनको गुणस्तर हेर्ने गर्छ । जसअनुसार ‘९९९’ भनेको सबैभन्दा उच्च गुणस्तरको (शुद्ध) सुन हो । नेपालमा यति शुद्ध गुणस्तरको सुन धेरै कम रहेको राष्ट्र बैंक स्रोतले बताएको छ ।

राष्ट्र बैंकलाई सुनको सिक्का (असर्फी) का लागि सबैभन्दा उच्च गुणस्तरको सुन चाहिन्छ । यसकारण सरकारको अनुमति पाएमा कानुन अनुसार उक्त सुन आफैंले खरिद गर्न तयार रहेको राष्ट्र बैंक स्रोतले बताएको छ ।

राजस्व अनुसन्धान विभागले तस्करबाट बरामद गरेको उक्त सुन गत साता टक्सार महाशाखाले गालेको थियो । ‘ब्रेक-सु’बाट निकाल्दा सुनको परिमाण ६० किलो ७८९ ग्राम कायम भएकोमा त्यसलाई गाल्दा घटेर ६० किलो ७१६ ग्राम कायम भएको छ ।

अब उक्त सुन राष्ट्र बैंकको ढुकुटीमै रहन्छ । मुद्दा विचाराधिन रहेकाले त्यसको टुङ्गो नलाग्दा सुन पनि राज्यकै ढुकुटीमै राख्ने कि राष्ट्र बैंकले खरिद गर्ने भन्ने टुङ्गो लाग्ने छैन ।

सुन तस्करी प्रकरणमा हालसम्म २२ जना पक्राउ परेका छन् । यस प्रकरणमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।