दोलखा । दोलखा प्रहरीले चिनीयाँ नाकाबाट तस्करी गरेर ल्याएको थप चार किलो सुन बरामद गरेको छ । विगु गाउँपालिका-१ लामाबगरबाट बारीमा ढुंगाले थिचेर लुकाएको अवस्थामा आइतबार दिउँसो चार किलो सुन बरामद गरेको दोलखाका प्रहरी प्रमुख दिपक खड्काले जानकारी दिए ।
‘लामाबगरमा बारीमा ढुंगाले थिचेर लुकाएको अवस्थामा फेला पारेका छौं,’ उनले भने, ‘उक्त सुन तस्करी गरी लुकाउने व्यक्ति पहिचान भइसकेको छ ।’ हाल उनी फरार रहेका प्रहरीले जनाएको छ ।
योसहित प्रहरीले गएको ५ दिनमा ११ किलो सुन बरामद गरेको छ । सुन तस्करीमा संलग्न थप २ जना पनि पक्राउ परेका छन् । पक्राउ पर्नेमा विगु गाउँपालिका–१ लामाबगर ३० वर्षीय चसमान तामाङ र अन्दाजी २७ वर्षीय राज तामाङ रहेको प्रहरीले जनाएको छ । सुन तस्करीमा संलग्न रहेको ओरोपमा चसमानलाई लामाबगरबाट आइतबार र राजलाई काठमाडौंबाट शुक्रबार पक्राउ गरी दोलखा ल्याइएको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।
विगु गाउपालिका–३ जामुनेबाट प्रहरीले चीनबाट अवैधरुपमा ल्याएर लुकाएको सुन बुधबार चार किलो र शुक्रबार तीन किलो बरामद गरेको थियो । सुन तस्करीको आरोपमा हालसम्म एकै गाउँका ७ जना पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरीले हालसम्म तस्करले ल्याएको ११ किलो सुन पक्राउ गरेको छ ।
फलाकबाट चीनको रोङजिया नाकाबाट ठूलो परिमाणमा सुन पैदलमार्गबाट भित्रिएको अनुमानमा प्रहरीले उक्त क्षेत्रमा निगरानी बढाएको छ । तस्करमा संलग्न अन्य भने फरार रहेको प्रहरी स्रोतले जनाएको छ ।