काठमाडौं, ९ असार । साविक उपविजेता नेपाल भारतमा जारी १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलको समूह चरणबाट बाहिरिएको छ ।

बेंग्लोरस्थित श्री कांतिराव स्टेडियममा शनिबार साविक विजेता भारतसँग २-० ले पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो ।

भारतलाई जित दिलाउन कप्तान सुनिल क्षेत्री र महेश सिंह नोरिमले एक एक गोल गरे । पहिलो हाफमा भारतविरुद्ध उत्कृष्ट खेलेको नेपालले दोस्रो हाफमा भने दुई गोल खाएको थियो ।

खेलको ६१ औं मिनेटमा सुनिलले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ७० औं मिनेटमा महेशले गोल गर्दै भारतलाई २-० को जित दिलाए ।

यस जितसँगै समूह ‘ए’ बाट भारतले सेमिफाइनलमा स्थान बनाएको छ । भारतले २ खेलमा ६ अंक जोडेको छ । लगातार दोस्रो जित निकालेको भारत दोस्रो स्थानमा रहेको छ ।

भारतले पहिलो खेलमा पाकिस्तानलाई ४-० ले हराएको थियो । नेपाल भने एक खेल अगावै समूह चरणबाट बाहिरिएको छ । पहिलो खेलमा नेपाल कुवेतसँग ३-१ ले पराजित भएको थियो ।

भारतसँगै कुवेत पनि सेमिफाइनल प्रवेश गरेको छ । कुवेतले शनिबार पाकिस्तानलाई ४-० ले हराएको थियो । कुवेत २ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । अब नेपालले तेस्रो तथा समूह चरणको अन्तिम खेलमा मंगलबार पाकिस्तानविरुद्ध खेल्नेछ ।

नेपाल अंकविहीन रहँदै तेस्रो स्थानमा रहेको छ । पाकिस्तान पनि अंकविहीन रहँदै पुछारमा रहेको छ । पाकिस्तान पनि समूह चरणबाट बाहिरिएको छ ।