काठमाडौं । पप्पु कन्स्ट्रक्सनका सञ्चालक एवं पूर्वसांसद हरिनारायण रौनियार पक्राउ परेका छन् ।

प्रहरी वृत्त, बानेश्वरको टोलीले रौनियारलाई पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले बताए । रौनियारविरुद्ध जिल्ला प्रहरी कार्यालय, बाँकेमा ठगीसम्बन्धी कसूरमा किटानी जाहेरी दर्ता थियो ।

बाँकेका एसपी सन्तोष सिंह राठौरका अनुसार रौनियार काठमाडौंमा बस्ने भएकाले पक्राउ गरिदिन जिल्ला प्रहरी परिसर, काठमाडौंलाई अनुरोध गरिएको थियो ।

सांसद् रहेकै बेला उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

रौनियार पर्सा क्षेत्र नं. ३ बाट निर्वाचित पूर्वसांसद् हुन् । उनी संघीय समाजवादी फोरमबाट सांसद् निर्वाचित भएका थिए । जसपाबाट निर्वाचित भएका रौनियार पुल निर्माणमा भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएपछि निलम्बित भएका थिए।