चितवन । पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक आइतबार साँझ पौने ६ बजेदेखि दुईतर्फी सञ्चालनमा आएको छ।

तुइन खोला पुल नजिकै पहिरो जाँदा शनिबार मध्यरातदेखि उक्त सडक अवरूद्ध भएको थियो ।

सडक दुईतर्फी नै खुलेको भरतपुर डिभिजन सडक कार्यालयले जानकारी गराएको छ । घण्टौँदेखि सडक अवरुद्ध हुँदा सवारी साधनको लामो लाइन लागेको छ । आ-आफ्ना लेनअनुसार गाडी चलाउन कार्यालयले चालकहरूलाई अपिल गरेको छ ।

आइतबार दिनभर एक्साभेटरले पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको हो ।

सडक खुलेपछि शनिबार रातिदेखि सडकमा अलपत्र गाडीहरु गन्तव्यतर्फ जान थालेका जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए ।