काठमाडौं । एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कप प्रतियोगितामा नेपाली टोली पाकिस्तान ‘ए’ सँग पराजित भएको छ ।

श्रीलंकाको कोलम्बो क्रिकेट क्लबको मैदानमा शुक्रबार भएको खेलमा नेपाल ४ विकेटले पराजित भएको हो ।

नेपालले दिएको १ सय ८० रनको लक्ष्य पाकिस्तान ए ले ३२ दशमलब ५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तान ए का लागि तैयव ताहिरले ६७ बलमा चौका र छक्काको सहयोगमा ५१ रनको अर्धशतकीय ईनिङ खेले । कमरान गुलामले २६ बलमा ३१ रन बनाए ।

नेपालका लागि ललित राजवंशीले ३ तथा पवन सर्राफले २ विकेट लिए । कुशल मल्लले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपाल ३७ ओभरमा अलआउट हुँदै १ सय ७९ रन मात्र बनाएको थियो । नेपालका लागि सोमपाल कामीले १ सय १ बलमा ९ चौका र २ छक्काको सहयोगमा ७५ रनको अर्धशतकीय ईनिङ खेले ।

नवौं विकेटका लागि सोमपालले प्रतिश जि.सीसँग मिलेर ७० बलमा ५८ रन बनाए । यो साझेदारीले नेपाललाई लज्जास्पद योगफल बन्नबाट जोगाए ।

प्रतिशले २४ बलमा १ चौका र २ छक्काको सहयोगमा २६ रन बनाए । १५ दशमलब ४ ओभरमा ७२ रनमा ८ विकेट गुमाएको नेपालका लागि सोमपाल र प्रतिशको साझेदारीबाट टोली लज्जास्पद सुम्मानजनक योगफलसम्म पुग्यो ।

१० औं विकेटका लागि सोमपाल र ललितनारायण राजवंशीले ५८ बलमा ४९ रनको महत्वपुर्ण साझेदारी गरे । राजवंशी १ रनमा अविजित रहे ।

अर्जुन साउद तथा कुशल मल्लले समान १७/१७ रन बनाए । गुलसन झाले १९ बलमा १ चौकाको सहयोगमा १३ रन बनाए । ओपनर आसिफ शेख १२ रन बनाए । अन्य नेपाली ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पाकिस्तान ए का लागि शाहनवाज दहानीले ५ तथा मोहम्मद वासिम जुनियरले ४ विकेट लिए । मुबासिर खानले १ विकेट लिए । जितसँगै पाकिस्तान ए समूह बी को शीर्ष स्थानमा उक्लिएको छ । पराजित नेपाल दोस्रो स्थानमा रहेको छ ।

नेपालले दोस्रो खेलमा सोमबार भारत ए सँग खेल्नेछ । भारतसँगको खेल डे नाईट खेल हुनेछ । नेपालले समूह चरणको अन्तिम खेलमा बुधबार युएई ए सँग खेल्नेछ ।

यस प्रतियोगितामा ६ टोली सहभागीता रहेको छ । सहभागी टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलका लागि छानिने छन् । सेमिफाइनल खेल २१ जुलाईमा हुनेछ ।

सेमिफाइनलका दुई विजेता उपाधिका लागि भिड्ने छन् । फाइनल खेल २३ जुलाईमा रहेको छ ।