काठमाडौं, ३ असार । गैरआवसीय नेपाली सङ्घ (एनआरएनए) को लामो समयदेखिको विवाद समाधान भएको छ । दशौँ महाधिवेशनपछि दुई समूहमा विभाजित भएको एनआरएनएलाई एकीकृत बनाएर लैजाने विषयमा आइतबार सहमति भएको हो । दुई पक्षबीच एकतासम्बन्धी चारबुँदे सहमतिसमेत भएको एनआरएनएले जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहलमा दुई समूहमा विभाजित एनआरएनए एक भएका हुन् । एनआरएनएको विवाद मिलाउन पूर्वअर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले समेत भूमिका खेलेका थिए । आइतबार दुबै समूहबीच भएको वार्तापछि प्रधानमन्त्री दाहाल र उपमहासचिव शर्माको उपस्थितिमा दुई समूहले एकतासम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
सो अवसरमा प्रधानमन्त्री दाहालले दुई समूह भएका कारण सरकारलाई समन्वय गर्न असहज भएको उल्लेख गर्दै एक ठाउँमा आएकामा खुसी लागेको बताए । दुई समूहको विधानलाई परराष्ट्र मन्त्रालयबाट प्रमाणित गराई एउटै बनाउन उनले सुझाव दिए ।
विभाजित एनआरएनएलाई एकताबद्ध बनाउन अध्यक्ष डा बद्री केसी र विनोद कुँवरले लामो समयदेखि वार्ता तथा संवादलाई जारी राखेको जारी विज्ञप्तिमा उल्लेख छ । एनआरएनएका अभियन्ता जानकी गुरुङ र डिबी क्षेत्रीको संयोजकत्वमा वार्ता समिति बनाइएको थियो । सहमतिअनुसार आगामी अक्टोबरमा ११औँ महाधिवेशन र निर्वाचन हुनेछ ।
हेर्नुहोस् सहमति पत्र
एनआरएनए संस्थापन पक्ष र १० औँ महाधिवेशनमा असन्तुष्ट पक्षबीच एकताका लागि सहमति
गैरआवासीय नेपाली संघ (एनआरएनए)को संस्थापन पक्ष र १० औँ महाधिवेशनमा असन्तुष्ट भएको पक्षबीच १८ जून २०२३ आइतबार एकताका लागि सहमति भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा दुवै पक्षबीच एकता गर्ने सहमति भएको हो । गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा बद्री केसी, उपाध्यक्ष आर के शर्मा र संस्थापन पक्षसँग असन्तुष्ट भएको समूहतर्फका विनोद कुँवर तथा दुवै पक्षबाट गठित उच्चस्तरीय वार्ता समितिका संयोजकहरु डीबी क्षेत्री र जानकी गुरुङबीच सहमति पत्रमा हस्ताक्षर भएको हो ।
योसँगै आगामी अक्टोबरमा हुने ११ औँ महाधिवेशन सहमति, सहकार्य र एकताको सन्देशसहित आयोजना हुने भएको छ । यसको लागि दुवै पक्षका प्रतिनिधिहरु रहने गरी एक उच्चस्तरीय अनुगमन समिति गठन गरिनेछ । उक्त समितिले सदस्यता वितरण, महाधिवेशन प्रतिनिधि छनोट र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचनको अनुगमन गर्नेछ । प्रधानमन्त्री दाहालले समृद्ध राष्ट्र निर्माण र मुलुकको हितको लागि एनआरएनबीच एकता आवश्यक रहेको भन्दै दुवै पक्षलाई सहमतिमा आएकोप्रति बधाई दिनुभयो ।
परराष्ट्रमन्त्री र एनआरएनएबीच भेट
‘सहमति सकारात्मक सन्देश’: परराष्ट्रमन्त्री साउद
यसैबीच आजै, गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा बद्री केसीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री एन.पी साउदसँग भेट गरेको छ । भेटमा संघका कार्यकारी अध्यक्ष डा केसीले गैरआवासीय नेपाली संघ र १० औँ महाधिवेशनपछि असन्तुष्ट पक्षबीच भएको एकताको सहमतिबारे जानकारी गराउनुभयो । उक्त अवसरमा परराष्ट्रमन्त्री साउदले एकताको सहमति अत्यन्तै सकारात्मक भएको भन्दै खुशी व्यक्त गर्नुभयो । मन्त्री साउदले मेलमिलाप नै उत्तम विकल्प भएकोले आगामी दिनमा विगतका नजिर नदोहोर्याउन संघको विधानलाई अक्षरशः पालना गर्न आग्रह समेत गर्नुभयो ।
सोही अवसरमा कार्यकारी अध्यक्ष डा केसीले आगामी अक्टोबरमा हुन लागेको गैरआवासीय नेपाली विश्व सम्मेलन आयोजनाका लागि सदाझैँ माननीय परराष्ट्रमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय समिति गठन गर्न आग्रह गर्नुभयो । सोही अवसरमा कार्यकारी अध्यक्ष डा केसीले विश्व सम्मेलनकै अवसरमा आयोजना हुने तेस्रो विज्ञ सम्मेलन तथा पहिलो युवा सम्मेलन नेपाल सरकारकै सहकार्यमा गर्न समेत मन्त्री साउदलाई अनुरोध गर्नुभयो ।
भेटमा, गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, सघका कार्यकारी अध्यक्ष डा बद्री केसी, उपाध्यक्ष आर के शर्मा, महासचिव डा केशव केशव पौडेल, उपमहासचिव गणेश केसी, सचिवद्वय गोविन्द गौतम, खगेन्द्र न्यौपाने, पूर्व संस्थापक अन्तर्राष्ट्रिय संयोजक भीम उदास, एनसीसी अमेरिकाका कोषाध्यक्ष राजीव श्रेष्ठ, एनसीसी यूकेकी रोजिना प्रधान, विनोद कुँवर, जानकी गुरुङ प्रमुख कार्यकारी अधिकृत रवि किरण अधिकारी लगायतको उपस्थिति रहेको थियो ।