काठमाडौं । काठमाडौंका मेयर बालेन्द्र शाहले अराजक शैलीमा लेखेको फेसबुक स्टाटसलाई लिएर उत्पन्न विवादका विषयमा उनको सचिवालयले प्रतिक्रिया दिएको छ । सचिवालयका तर्फबाट शाहका स्वकीय सचिव भुपदेव शाहले प्रकाशित समाचारहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
शाहले विज्ञप्तिमा जनाएअनुसार शनिबार बेलुकी ७ बजे सुत्केरी अवस्थामा रहेकी मेयर पत्नी सविना काफ्लेको स्वास्थ्यमा एकाएक जटिलता आएर जोखिमयुक्त स्थिति देखिएको थियो । उनलाई काठमाडौं महानगरपालिकाको सरकारी गाडी प्रयोग गरेर अस्पताल लगिएको विज्ञप्तिमा उल्लेख छ ।
मेयर शाहको निजी सचिवालयले सुत्केरी अवस्थामा रहेकी मेयर पत्नी सविनामाथि प्रहरीले चेकजाँचका नाममा अनावश्यक केरकार गरिएको उल्लेख गरेको छ ।
मेयर शाहले शनिबार राति फेसबुकमार्फत महानगरपालिकाको गाडी रोके सिंहदरबारमा आगो लगाउने चेतावनी दिएका थिए । उनले महानगरको गाडी कसले र किन रोकेको थियो भन्ने खुलाएका थिएनन् । उत्तेजक अभिव्यक्ति दिएको भन्दै बालेनको सार्वजनिक आलोचना भएपछि आइतबार उनको सचिवालयले विज्ञप्ति जारी गर्दै घटनाबारे जानकारी गराएको हो ।
बालेनको स्वकीय सचिवालयका अनुसार बालेन दम्पतीका शिशु (मेडिसिटी अस्पताल) एनआईसीयूमा उपचाररत छन् । शनिबार साँझ बालेनकी पत्नी सविनाको स्वास्थ्यमा जटिलता देखिएपछि बालेनले चढ्ने महानगरको गाडीमा अस्पताल गएकी थिइन् ।