काठमाडौं । निर्माताहरुबीच फिल्मको कमाई धेरै देखाउने होडबाजी छ । १० लाख कमाएको फिल्मले ५० लाख र ५० लाख कमाएको फिल्मले १ करोड कमायो भन्दै निर्माताले झ्याली पिट्ने गरेका छन् । हलहरुमा बक्स अफिस सिस्टम कार्यान्वयन नहुँदासम्म मिडियाले समेत निर्माता र वितरककै बोली पत्याउनु पर्ने अवस्था थियो । र, मिडियालाई प्रयोग गरेर निर्माताले करोडौंको डंका पिट्ने गर्थे ।
देशका धेरैजसो हलमा बक्स अफिस सिस्टम लागू भएपछि चलचित्र विकास बोर्डले यस वर्षदेखि स्वदेशी र विदेशी फिल्मको कमाई सार्वजनिक गर्न थालेको छ, जुन धेरै निर्मातालाई टाउको दुखाइको विषय बनिरहेको छ । किनकि, मिडियाले बोर्डको रिपोर्टलाई नै आधार मान्न थालेको छ । जसले गर्दा फिल्मले करोडौं कमाएको भन्दै निर्माताले न हल्लाखल्ला गर्न पाएका छन् न त केक काट्न ।
बोर्डले फिल्मको कमाई सार्वजनिक गरेको विषयलाई लिएर धेरै निर्माता खुसी छैनन् । यसबीच, अभिनेत्री करिश्मा मानन्धरले पनि फिल्मको कमाई सार्वजनिक गर्ने बोर्डको कदमप्रति आपत्ति जनाएकी छन् । फिल्म प्रदर्शन भैरहेको समयमा कमाई सार्वजनिक गर्नु ठीक नभएको बताउँदै उनले फिल्म नउत्रिएसम्म व्यापार सार्वजनिक गर्न नपाउने नियमको लागि पहल गर्नुपर्ने बताएकी छन् ।
‘जबसम्म फिल्म चलिरहेको हुन्छ, तबसम्म दर्शक तान्ने सम्भावना रहिरहन्छ । फिल्म चलेको दुई दिनमै यति कमायो र उति कमायो भनेर समाचार सार्वजनिक गर्नु बोर्ड जस्तो जिम्मेवार निकायले गर्ने कुरा हो जस्तो लाग्दैन,’ उनी फेसबुकमा लेख्छिन्, ‘सबै मिलेर कानुनी रुपमा नै जबसम्म फिल्म हलबाट उत्रिँदैन तबसम्म व्यापार सार्वजनिक गर्न नपाउने नियमको लागि पहल गर्नुपर्ने देखियो ।’
बोर्डको स्थापना गलत समयमा सूचना प्रकाशित गर्नका लागि नभएको उनको तर्क छ । बोर्डले फिल्मको कमाई सार्वजनिक गरेको विषयमा करिश्माले यसकारण आपत्ति जनाएकी हुन् कि उनको मुख्य भूमिका रहेको फिल्म ‘बगान’को कमाई बोर्डले मिडियालाई उपलब्ध गराउँदै आएको रिपोर्टमा कमजोर देखिएको छ । फिल्मकी निर्मात्री समेत भएकाले करिश्मालाई यो सह्यै हुने कुरै भएन ।