काठमाडौं । भारतले साफ च्याम्पियनसिप फुटबलको नवौँ पटक कीर्तिमानी उपाधि जितेको छ ।

मंगलबार राति बेंगलोरमा भएको फाइनल खेलमा कुवेतलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै भारतले उपाधि उचालेको हो।

निर्धारित समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टी सुटआउटमा पनि बराबरी भएपछि खेलको निर्णय सडन डेथमा गरिएको थियो ।

शबैश अल खाल्दीले खेलको १४ औं मिनेटमा गोल गर्दै कुवेतलाई सुरुआती अग्रता दिलाएका थिए । लल्लियान्जुआला चाग्तेले ३८ औं मिनेटमा गोल गर्दै भारतलाई बराबरीमा ल्याउन सफल भएका थिए ।

सडन डेथमा कुवेतका कप्तान खालिद हाजियाको प्रहार गोलकिपर गुरप्रित सिंह सन्धुले रोकेपछि भारत प्रतियोगिताको च्याम्पियन बनेको हो । त्यसअघि पेनाल्टी सुटआउटमा भारत र कुवेतका एक-एक खेलाडी गोल गर्न चुकेका थिए । समूह चरणको खेलमा दुवै टोलीले १-१ गोलको बराबरी खेलेका थिए ।

नवौं पटक साफ च्याम्पियनसिप प्रतियोगिताको उपाधि उचालेको भारतले यसअघि १९९३, १९९७, १९९९, २००५, २००९, २०११, २०१५ र २०२१ मा साफ फुटबलको उपाधि जितेको थियो । प्रतियोगिताको १४ वर्षमा भारत ९ पटक च्याम्पियन बनेको हो ।

साफ च्याम्पियनसिपमा एकछत्र राज गरेको यो टोलीले १३ पटक फाइनलमा स्थान बनाउँदा पाँच पटकमात्रै विपक्षीलाई नतिजा सुम्पेको थियो । आगामी वर्ष हुने एएफसी एसिया कपको तयारीमा रहेको भारत घरेलु मैदानमा लगातार दोस्रो प्रतियोगिताको उपाधि उचाल्न सफल भयो ।