काठमाडौं । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आइतबार दिनभर उच्चस्तरीय भेटवार्तामा व्यस्त भए ।

उनले आज (आइतबार) राष्ट्रपति, प्रधानमन्त्रीदेखि राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटवार्ता गरे । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरे ।

मुख्यसचिव डा. वैकुण्ठ अर्याल र परराष्ट्र सचिव भरतराज पौड्यालले महासचिव गुटेरेसलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्वागत गरेका थिए ।

राष्ट्रपति पौडेलसँग महासचिव गुटेरेसको शिष्टाचार भेट

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

आइतबार राष्ट्रपति भवन शीतल निवास पुगेर उनले राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट गरेका हुन् । राष्ट्रपति पौडेलसँगको भेटमा महासचिव गुटेरेसले नेपालमा जलवायु परिवर्तनका कारण भइरहेको असरका बारेमा छलफल गरेका छन् ।

यसअघि महासचिव गुटेरेसले प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसँग भेट गरेका थिए ।

चार दिने नेपाल भ्रमणका क्रममा रहेका उनले सोमबार र मंगलबार पोखरा, लुम्बिनी, सोलुखुम्बुस्थित सगरमाथा बेसक्याम्प, अन्नपूर्ण बेसक्याम्पको भ्रमण गर्ने र मंगलबार संसदलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

राष्ट्रसंघ महासचिव गुटेरेस र उपप्रधानमन्त्री खड्काबीच भेटवार्ता

महासचिव गुटेरेस र उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ ।

महासचिव गुटेरेसलाई रक्षा सचिव किरणराज शर्माले रक्षा मन्त्रालयमा स्वागत गरेका थिए । आज परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्तापछि गुटेरेस रक्षामन्त्री खड्कालाई भेट्न मन्त्रालय पुगेका हुन् ।

राष्ट्रसंघका महासचिव गुटेरेस र परराष्ट्रमन्त्री साउदबीच भेटवार्ता

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस र नेपालका परराष्ट्रमन्त्री एनपी साउदबीच भेटवार्ता भएको छ ।

उच्चस्तरीय भेटवार्ताका लागि सिंहदरबार पुगेका गुटेरेसले सुरुमा परराष्ट्रमन्त्री साउदसँग भेटवार्ता गरेका हुन् । भेटघाटका लागि परराष्ट्र मन्त्रालय पुगेका गुटेरेसलाई सहसचिव सेवा लम्सालले स्वागत गरेकी थिइन् ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग आज भेटवार्ताका लागि तय भएको पूर्वनिर्धारित कार्यक्रम भने पर्सि मङ्गलबारका लागि सरेको जनाइएको छ ।

महासचिव गुटेरेस र ओली-देउवाबीच छुट्टाछुट्टै भेट

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस र कांग्रेस सभापति शेरबहादुर देउवा तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छुट्टाछुटै भेट भएको छ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा महासचिव गुटरेसले देउवा र ओलीसँग छुट्टाछुटै भेट गरेका हुन् । देउवासँगको भेटवार्ता पछि उनले ओलीसँग भेट गरे । दुवै नेताका लागि १५-१५ मिनेटको समय छुट्याइएको थियो ।

त्यसअघि गुटेरेसले सभामुख देवराज घिमिरेसँग भेटवार्ता गरे‍का थिए ।