काठमाडौं । फिफा महिला विश्वकपको नवौं संस्करण बुधबार न्युजिल्यान्ड र अस्ट्रेलियामा सुरु भएको छ । न्युजिल्यान्ड र नर्वेबीचको उद्घाटन खेल सुरु हुनु केही घन्टा अघि अकल्यान्डमा गोली प्रहारबाट दुई जनाको मृत्यु भएपछि समर्थक डराएका थिए । प्रधानमन्त्री क्रिस हिपकिन्सले विश्वकप सुरक्षित हुने भन्दै चिन्ता नलिन आश्वस्त पारे । यो घटनाले विश्वकपको उद्घाटन समारोह तालिकालाई कुनै असर गरेन । योजनाअनुसार नै इडेन पार्कमा महिला फुटबलको सवैभन्दा ठूलो प्रतियोगिताको प्रारम्भ भयो ।

सन् २०२० मा सह-आयोजनाको अधिकार पाएसँगै उत्साहित न्युजिल्यान्ड प्रतियोगिता सुरु हुने दिन भने निराश बन्यो । सबैभन्दा ठूलो सहर अकल्यान्डमा गोली प्रहार भयो । दुई जनाको ज्यान गयो भने केही घाइते भए । अकल्यान्डको व्यस्त सडकमा भएको घटनाले विश्वकपका लागि पुगेका खेलाडी, समर्थकमा त्रास छायो । गोली प्रहार गर्ने व्यक्ति कुनै आतंकवादसँग सम्बन्धित नरहेको भन्दै प्रधानमन्बी हिपकिन्सले राष्ट्रिय सुरक्षामा कुनै खतरा नरहेको बताए । सरकारले सुरक्षा व्यवस्था कडा पारेको छ । गोली प्रहार गर्ने ब्यक्तिको पनि मृत्यु भएको छ ।

कीर्तिमानी दर्शकको उपस्थितिमा इडेन पार्कमा भएको उद्घाटन समारोह १० मिनेटमै सकियो । उद्घाटन समारोहको थिमलाई सांस्कृतिक उत्पति, महिला सशक्तीकरण र फुटवल एकताले परिभाषित गरिएको थियो ।

समारोहमा कलाकारले आयोजक दुवै देशको संस्कृति र परम्परा झल्कने नृत्य प्रस्तुत गरे । न्युजिल्यान्डलाई प्रतिनिधित्व गर्ने मौरा नृत्य र अस्ट्रेलियाका आदिवासी फर्स्ट नेसन्स डान्सरले समारोहलाई आकर्षक बनाएको थियो । केही गायकले सांगितिक प्रस्तुतिसमेत दिएका थिए ।

एकभन्दा बढी देशमा आयोजना भएको यो पहिलो विश्वकप हो । सहभागी टिम पनि अहिलेसम्मकै सर्वाधिक ३२ छन् । एक महिनासम्म सञ्चालन हुने प्रतियोगिताको फाइनल २० अगस्टमा अस्ट्रेलियाको सिड्नीमा हुनेछ । फिफाले यो विश्वकपका ६४ खेललाई २० लाख भन्दा बढीले प्रत्यक्ष हेर्ने अपेक्षा गरेको छ ।

१९९१ मा भएको पहिलो विश्वकपदेखि अहिलेसम्म कुल ३६ राष्ट्रले विश्वकप खेलिसकेका छन् । तर जम्मा चार देशले मात्र उपाधि जितेका छन् । जसमा अमेरिका चार, जर्मनी दुई, जापान र नर्वे एक-पटक च्याम्पियन बनेका छन् । साविक विजेता अमेरिका लगातार तेस्रो पटक उपाधि जित्ने लक्ष्यमा छ । यदि फाइनल जिते अमेरिका समग्रमा महिला तथा पुरुष दुवैमा उपाधिमा ह्याट्रिक गर्ने पहिलो राष्ट्र बन्ने छ । सर्वाधिक गोलकर्ताको कीर्तिमानख ब्राजिलकी मार्टाको नाममा छ । उनले ५ विश्वकपमा १७ गोल गरेकी छन् ।

यो पटकको विश्वकपको पुरस्कार राशी १ सय १० मिलियन डलर छ । सहभागी ३२ मध्ये फिलिपिन्स, भियतनाम, मरक्को, जाम्बिया , हेइटी, पनामा, पोर्चुगल र रिपब्लिक अफ आयरल्यान्ड यो पहिलो विश्वकप हो ।