काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुनकाण्डका भरियालाई मालिकसम्म पुग्न दिएको भए मालिकलाई समेत समाउन सकिने बताएका छन् ।

बुधबार प्रतिनिधिसभामा बोल्दै सांसद लामिछानेले भने, ‘भरियामात्र समाउनु थियो र ट्याक्सी समात्यो होला । त्यस्तो सूचना थियो भने त्यो भरियाले ट्याक्सीबाट लिएर गएर मालिकसम्म पुर्याउँथ्यो होला नि त । मालिकसम्म पुगेपछि मालिकलाई नै क्रयाप झ्याप पार्न सकिन्थ्यो होला नि त । किन गरिएन ?’

लामिछानेले भने ‘यो एउटा ठूलो यो एउटा ठूलो सेटिङ हो । यो निरन्तर चल्दै आएको छ ।’

यस्तै विमानस्थलमा सुन भेटिएको प्रकरणमा कर्मचारीलाई कारवाही नगरी सरुवामा मात्रै गरेकोमा रास्वपा नेता लामिछानेले आपत्ति जनाए । अध्यागमन वा भन्सारका प्रमुखहरुले त्यहाँ बसिरहने नैतिक हैसियत गुमाएको लामिछानेले बताए ।

प्रतिनिधिसभा बैठकमा बोल्दै लामिछानेले भने, ‘कारवाही भनेको सरुवा हो ? उहाँहरुलाई कारवाही गरिएको हो कि पुरस्कार ? क्विन्टलका क्विन्टल सुन आउने यस्तो गम्भीर विषयमा कुनै पनि निकायका प्रमुखहरुलाई तुरुन्त बर्खास्त गर्नुपर्ने हो कि केही कर्मचारीहरुलाई सरुवा गरेर यसलाई साटफेर गर्नुपर्ने हो ?’

कर्मचारीमाथि तत्काल कारवाही नगर्दा उनीलाई सूचना लुकाउने समय मिलेको लामिछानेको भनाइ छ । उनले संसदमा भने, ‘उनीहरुसँग कस्ता इन्फरमेशनहरु होलान् ? उनीहरुलाई डामेर छोडेपछि त्यहाँ भएका महत्वपूर्ण सूचनाहरु लुकाउने समय प्रशस्त मिल्यो । अनुसन्धानलाई प्रभावित पार्ने समय प्रशस्त मिल्यो । कतिलाई कतिपयलाई टेलिभिजनमा गएर तामो तुलसी छोएर बाचा कसम खाने समय मिल्छ होला ।’