काठमाडौं । हिन्दु धर्मका विभिन्न धार्मिक समूहको विरोधपछि चलचित्र ‘एक भगवत् गीता’ विवादमा तानिएको छ । साथै निर्माण टिम समस्यामा परेको छ । चलिचत्रको नाम र विषय वस्तुलाई लिएर हिन्दु धर्मका धार्मिक संघसंस्थाले आपत्ति जनाएपछि चलिचत्र विकास बोर्डले सेन्सर सिफारिससमेत दिन अस्वीकार गरेको छ ।

बिहीबार बोर्डको अगुवाइमा फिल्मका निर्माता सुनिलकुमार थापा तथा विश्व हिन्दु महासंघ, शिव सेना नेपाल, विश्व हिन्दु युवा संघ, जगतगुरु आश्रम लगायत १३ संस्था आबद्ध हिन्दु जागरण नेपालका प्रतिनिधिबीच भएको छलफल निष्कर्षमा पुग्न सकेन ।

ती धार्मिक संघ-संस्थाले फिल्म ‘एक भगवत् गीता’को शीर्षक र पात्रले सनातन धर्ममाथि चोट पुर्‍याएको दाबी गर्दै प्रदर्शन रोक्न माग गरी बोर्डमा निवेदन दिएका थिए । फिल्मको स्क्रिप्टमा भगवत् गीताबारे कुनै सम्बन्ध नराखी व्यावसायिक प्रयोजनका लागि मात्र प्रयोग गरेर सनातन धर्म-संस्कृतिमाथि आँच पुर्‍याएको उनीहरुको आरोप छ । निर्माण पक्षले भने आफूहरुले सरकारी निकायको स्वीकृति दिएर फिल्मको शीर्षक राखेको र रोमान्टिक प्रेमकथामा आधारित फिल्म भएकाले धर्ममाथि आँच पुर्‍याउने कुनै विषयवस्तु नभएको बताउँदै आएको छ । बिहीबारको छलफलमा पनि निर्माता थापाले यही कुरा दोहोर्‍याएका थिए ।

यता बोर्डले बिहीबारको छलफल सहमतिमा पुग्न नसकेपछि शुक्रबारलाई कार्यसमिति बैठक बोलाएको छ । ‘दुवै पक्षलाई राखेर मिलाउने प्रयास गरिरहेका छौं । धर्म र समुदायमाथिको कुरा भएकाले भोलि कार्यसमिति बैठक राखेर निष्कर्षमा पुर्‍याउने प्रयास गर्नेछौं’ बोर्डका प्रवक्ता केएल बुढाथोकीले भने ।

केन्द्रीय चलचित्र जाँच समितिका अध्यक्ष नेत्रप्रसाद सुवेदीले फिल्मबारे विवाद भएपछि दुवै पक्षलाई मिलाएर मात्रै सेन्सर सिफारिसका लागि पठाउन मन्त्रालयले बोर्डलाई पत्राचार गरेको जानकारी दिए ।

फिल्म यही भदौ २९ गते रिलिज हुने तयारीमा छ । झरना थापा निर्देशित फिल्ममा विपिन कार्की, सुहाना थापा र धीरज मगरको मुख्य भूमिका छ ।