काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्वभूमिसुधार मन्त्री चन्द्रदेव जोशीसँग सोमबार साँझ बयान लिएको छ ।

जोशीलाई प्रहरीले सोमबार दिउँसो बयानका लागि बोलाए पनि आज बयान हुन नसक्ने भन्दै फर्काएको थियो । सोमबार साँझ ट्विट गर्दै पूर्वमन्त्री जोशीले बयानपछि आफ्नो बोझ हलुका भएको प्रतिक्रिया दिएका छन् ।

‘अन्तत: बोझबाट हलुका भएको छु । सीआईबी समक्ष बयान दिएको छु । सीआईबीलाई धन्यवाद । ललिता निवास काण्डको सम्बन्धमा मेरो भनाइ सार्वजनिक नै छ,’ उनले लेखेका छन्, ‘चाहिएको बेला आवश्यक सहयोगका लागि तयार छु ।’

उनले २०६९ असोज १८ गते ललिता निवासबारे मन्त्रिपरिषदको निर्णय हुँदा आफू मन्त्री नभएको बताएका छन् ।

बाबुराम भट्टराईको सरकारबाट असोज ४ गते राजीनामा दिएको बताएका छन् । सोमबार सीआईबीले बयानका लागि बोलाए पनि लामो समय कुराएर त्यसै फिर्ता गरेको भन्दै जोशीले ट्विटरमा असन्तुष्टि पोखेका थिए ।

तत्कालीन मन्त्री जोशीले ललिता निवास जग्गा व्यक्तिको नाममा बेच्ने क्रममा टिप्पणी सदर गरेको आरोपमा ब्युरोले उनीसँग बयान लिएको हो ।

यसअघि सीआईबीले पूर्व प्रधानमन्त्रीहरु माधकुमार नेपाल र बाबुराम भट्टराईसँग पनि यस विषयमा बयान लिएको थियो ।