तनहुँ । पृथ्वी राजमार्ग सडकअन्तर्गत तनहुँको व्यास नगरपालिका-५ स्थित कन्टारमा सडक भासिँदा राजमार्ग अवरुद्ध भएको छ ।

आज दिउँसो करिब पौने १ बजेदेखि सडक अवरुद्ध भएपछि दुईतर्फी सवारीसाधन आवतजावत बन्द भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सडक विस्तारको जिम्मा पाएको चिनिया कम्पनीसँगको समन्वयमा भासिएको सडक मर्मत गरी सवारी साधन सञ्चालनका लागि पहल भएको छ । अवरुद्व सडक पुनः सञ्चालन गर्न समय लाग्ने देखिएको उक्त कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

प्रहरीले दमौलीबाट पोखरातर्फ जानेका लागि दमौली बजारको भोर्लेटारचोकदेखि दुई पिप्ले हुँदै पोल्याङतर्फ सवारी साधन पठाउन थालेको छ । उक्त मार्गको कलेस्ती, दुईपिप्ले, कास्कीको पोल्याङ हुँदै पोखरा जान सकिन्छ ।

यसैगरी पृथ्वी राजमार्ग अन्तर्गत व्यास-१२ देउरालीमा मङ्गलबार बिहान ११ बजे भासिएको सडक आजसम्म पनि एकतर्फी सञ्चालन भइरहेको छ ।