काठमाडौं । सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा नगएपछि अर्को पेशी भदौ २६ गतेलाई तोकिएको छ । न्यायाधीश सकुन्तला कार्कीले जाहेरीकर्ता गौशाला २६ को जन्मदर्ता र बसाइसराइका थप अभिलेख मगाएकी छन् ।

आज दिनभरि मुद्दाको वादी पक्षका वकिलहरुले बहस गरेका थिए । प्रतिवादी पक्षका वकिलको बहस आज हुन सक्ने अवस्था थिएन ।

सुनुवाइको अन्त्यमा प्रतिवादीका वकिल सरोज घिमिरेले गौशाला २६ को जन्ममिति विवाद किनारा लगाउनुपर्नेमा जोड दिए । उनले गौशालाको पुरानो ठेगाना काठमाडौंको शंकरापुर गाविसको सम्वन्धित वडाबाट जन्ममिति र बसाइसराइको ढड्डा मगाएर हेर्न न्यायाधीशसमक्ष माग गरे ।

यसअघि अदालतले गौशाला २६ हालको ठेगाना नुवाकोटको तादी गाउँपालिकाबाट कागजातहरु मगाएको थियो । ती कागजातहरुमा उल्लेखित विवरण परस्परविरोधी थिए । गौशाला २६ को मात्र नभएर उनकी आमाको जन्ममिति पनि फरक फरक पाएपछि मुद्दा उल्झनमा परिरहेको छ ।

सन्दीपका वकिलले शंकरापुरको वडामा निजको वास्तविक जन्ममिति हुन सक्ने भएकाले ढड्डा मगाउन सुझाएका हुन् । त्यसलाई स्वीकार्दै न्यायाधीश कार्कीले आदेश गरेकी छन् ।