काठमाडौं । साफ यू-१९ च्याम्पियनसिपको समूह चरणको पहिलो खेलमा नेपाल पराजित भएको छ ।
घरेलु मैदान दशरथ रंगशालामा आज साँझ भएको खेलमा पाकिस्तानसँग नेपाल १-० ले पराजित भएको हो ।

पाकिस्तानले ७५ औं मिनेटमा गोल गरेको थियो । कप्तानसमेत रहेका अलि जाफरले डिबक्सभन्दा केही परबाट गरेको लामो प्रहार गोलमा परिणत भएको थियो । उक्त प्रहार नेपाली किपर जियारथ शेखले भेट्नै नसक्ने गरी पोस्टको माथिल्लो कुनाबाट गोल भएको थियो ।

पहिलो हाफमा नेपालका कप्तान गोलकिपर शेखले पाकिस्तानका ६ वटा प्रहारको उत्कृष्ट बचाउ गरेका थिए ।

नेपालले अब सोमबार माल्दिभ्ससँग खेल्ने छ । त्यसअघि शनिबार पाकिस्तान र माल्दिभ्सले खेल्ने छन् ।

यसअघि आजै भएको समूह बीको खेलमा भारतले बंगलादेशलाई ३-० ले हराएको थियो ।