काठमाडौं । झन्डै एक क्विन्टल सुन तस्करी प्रकरणका मुख्य अभियुक्त अझै पक्राउ परेका छैनन् । राजस्व अनुसन्धान विभागले अहिलेसम्म यो प्रकरणमा १० जनालाई पक्राउ गरे पनि सुन कसको हो भन्ने पत्ता लगाउन सकेको छैन । पक्राउ परेकाहरूसँग विभागले बयान लिने काम जारी राखेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट भन्सार जाँचसमेत पास गरेर निकालिएको सामानमा राजस्व अनुसन्धान विभागले बरामद गरी जाँच गर्दा झन्डै एक क्विन्टल सुन भेटिएको थियो । यो घटनामा पक्राउ परेका एक चिनियाँ र एक भारतीयसहित १० जनाले नै यो सुन आफ्नो नभएको बताएका छन् । त्यही कारण यो सुन कसले ल्याएको हो भन्ने पत्ता लगाउन विभागलाई हम्मेहम्मे परेको छ । पक्राउ परेकाहरूसँग बयान लिने क्रमसँगै थप अनुसन्धान जारी रहेकाले सकेसम्म चाँडै मुख्य अभियुक्तसम्म पुग्ने दाबी विभागको छ ।

पक्राउ परेकाहरू यति ठूलो कारोबारमा संलग्न रहेको भन्न सकिने आधारसमेत विभागले भेट्न सकेको छैन । यो घटनामा निकै ठूलो गिरोह नै संलग्न रहेको आशंका विभागले गरेको छ । त्यति मात्र होइन, माथिल्लो तहको राजनीतिक वा प्रशासनिक संयन्त्रको समेत संलग्नताको आशंका छ ।

हङकङबाट ल्याइएको ठूलो परिमाणको सुन नेपालमै खपत हुने सम्भावना नभएकाले भारत लैजान ट्रान्जिटको रूपमा त्रिभुवन विमानस्थल प्रयोग भएको अनुमान छ । घटनाको अनुसन्धान नेपालमा मात्रै सीमित गरेर मुख्य अभियुक्तसम्म पुग्ने सम्भावना कम हुने विज्ञ बताउँछन् ।

भन्सार कार्यालयबाट जाँच पास भएर सुन बाहिरिएपछि त्रिभुवन विमानस्थल भन्सार कार्यालय र त्यहाँको सुरक्षाका बारेमा पनि प्रश्न उठिसकेको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले शुक्रबार विमानस्थल भन्सार र अध्यागमन कार्यालयको निरीक्षण गर्दै घटनामा जो-सुकै भए पनि कारबाहीको दायरामा ल्याएरै छाड्ने दाबी गरे ।

सुन बरामद भएको तीन दिनसम्म पनि मुख्य अभियुक्तसम्म पुग्न नसक्नुले भने आशंका जन्माएको छ । यसअघिका यस्तै घटनामा पनि राज्यका निकाय मुख्य अभियुक्तसम्म पुग्न सकेको थिएन ।

अहिलेसम्म पक्राउ परेका सामान आयात गर्ने रेडी ट्रेड प्रालिका सञ्चालक भनिएका दिलीप भुजेल चाउमिन कारखानाका मजदुर रहेको खुलासा भएको छ । यसअघि उनी मजदुरी काम गर्दै आएका व्यक्ति हुन् । उनको नाममा रेडी ट्रेड प्रालि गत चैत १९ गते मात्रै दर्ता भएको कम्पनी रजिष्ट्रारको कार्यालयको रेकर्डमा छ ।

त्यसयता उनको नाममा रहेको कम्पनीले २८ पटक सामान आयात गरेको देखिन्छ । त्यसमा १५ पटक स्कुटरको ‘ब्रेक सु’ आयात गरेको रेकर्डमा छ ।