काठमाडौँ । एक सय किलो सुन तस्करी प्रकरणमा मुछिएका व्यापारी राकेशकुमार अडुकियाका छोरा रोहन अडुकिया शुक्रबार पक्राउ परेका छन् ।
रोहनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अध्यागमन कार्यालयले पक्राउ गरेको हो । अध्यागमनले उनलाई राजस्व अनुसन्धान विभागको जिम्मा लगाएको छ । उनी भारतीय राहदानी प्रयोग गरेर इन्डिगो जहाजबाट नेपाल आएका थिए ।
राकेश भने सुन बरामदपछि फरार छन् । यसअघि अडुकियाको घरमा विभागले छापा मारेको थियो ।
सय किलो सुन तस्करी प्रकरणमा मुछिएका व्यापारी अडुकियाले पछिल्ला नौ महिनामा १४ पटक नेपाल–हङकङ ओहोरदोहोर गरेको भेटिएको थियो ।
सरकारी अभिलेखअनुसार नेपाली नागरिक रहेका उनले भारतीय राहदानीबाट विभिन्न मुलुकको यात्रा गरेका हुन्। उनको यो पटक-पटकको यात्रा सुन तस्करीमै जोडिएको आशंका अनुसन्धानमा संलग्न निकायले गरेका छन्।
क्विन्टल सुन तस्करी प्रकरणमा संलग्न दुई चिनियाँ नागरिक पनि शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । हिमालय एयरलाइन्सबाट चीन भाग्न लागेका ली जियालिन र लिउ फुयानलाई त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले शुक्रबार बिहान नियन्त्रणमा लिइ प्रहरीको जिम्मा लगाएको थियो ।
सुन तस्करी प्रकरणमा अहिलेसम्म ५ विदेशीसहित २१ जना पक्राउ परिसकेका छन् ।